नेपाली कांग्रेसको प्रतिज्ञापत्र आज जनकपुरधामबाट सार्वजनिक हुँदै: मधेसको स्वाभिमान र समावेशिताको सन्देशसहित १ लाखभन्दा बढी सहभागिताको अपेक्षा

17 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, फाल्गुन ६ गते । नेपाली कांग्रेसले आफ्नो प्रतिनिधिसभा निर्वाचनको प्रतिज्ञापत्र (मेनिफेस्टो) आज फागुन ५ गते जनकपुरधाममा आयोजित विशेष चुनावी सभामार्फत सार्वजनिक गर्ने भएको छ। मधेस प्रदेशको राजधानी तथा ऐतिहासिक–सांस्कृतिक नगरी जनकपुरधाममा हुने यो प्रतिज्ञा सभा केवल राजनीतिक कार्यक्रम मात्र नभई मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरका रूपमा पार्टीले लिएको छ।

सभामा कांग्रेस सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मधेसको माटोले सधैं प्रजातन्त्र, समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको छ। मधेस आन्दोलनपछिको राजनीतिक यात्रामा कांग्रेसले मधेसका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई मूल एजेन्डाका रूपमा आत्मसात् गरेको छ।”

सभापति यादवले थपेका छन्, “सभापति गगन कुमार थापा स्वयं मधेसको जिल्ला सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवार बनेर मधेसका जनतासँग प्रत्यक्ष जोडिनुभएको छ। यो केवल चुनावी रणनीति नभई मधेस र राष्ट्रिय राजनीतिबीचको सम्बन्धलाई सुदृढ बनाउने सन्देश हो।” प्रतिज्ञापत्रमा मधेसको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग तथा व्यापारको विस्तार, सीमावर्ती क्षेत्रको व्यवस्थित विकास, युवालाई रोजगारी, महिला सशक्तीकरण र सामाजिक न्याय सुनिश्चित गर्ने स्पष्ट कार्ययोजना समेटिने अपेक्षा गरिएको छ।

कार्यक्रममा मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट गरी १ लाखभन्दा बढी मतदाता तथा समर्थकहरूको सहभागिता रहने अनुमान गरिएको छ। जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञापत्रबारे काठमाडौंमा पनि पत्रकार सम्मेलन हुने भएको छ। आज दिउँसो ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता देवराज चालिसेले प्रतिज्ञापत्रबारे विस्तृत जानकारी दिने कार्यक्रम तय भएको छ।

यो प्रतिज्ञापत्रले मधेसका मुद्दालाई राष्ट्रिय स्तरमा जोड दिने र कांग्रेसको समावेशी एवं विकासमुखी छविलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?