पूर्वमन्त्री जितेन्द्र नारायण देवले फेरि नेपाली कांग्रेस प्रवेश गरे: एमाले छाडेको केही दिनमै राजविराजमा भव्य स्वागत

15 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, फाल्गुन ५ गते । सप्तरीमा राजनीतिक सरगर्मी बढिरहेका बेला पूर्वमन्त्री तथा संविधानसभा सदस्य जितेन्द्र नारायण देवले नेकपा (एमाले) परित्याग गरेको केही दिनमै नेपाली कांग्रेसमा पुनः प्रवेश गरेका छन्। मंगलबार राजविराजस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रममा उनलाई पार्टीमा भित्र्याइएको हो।

जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सन्तकुमार मण्डल तथा राष्ट्रियसभा सदस्य रञ्जित कर्णले देवलाई फूलमाला, अबिर र खादा लगाएर भव्य स्वागत गरेका छन्। पार्टी प्रवेशपछि बोल्दै देवले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै विशेष महाधिवेशनले अघि सारेको नवीन नीति आत्मसात् गरेको बताए।

विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय देवको राजनीतिक यात्रा निकै उतारचढावपूर्ण रहेको छ। उनी मधेसी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै कांग्रेसमा प्रवेश गरेका थिए। फोरम लोकतान्त्रिकले कांग्रेससँग विलय गरेपछि उनी कांग्रेसबाट राष्ट्रियसभा सदस्य समेत बने। गत असार २०८१ मा कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका देवले माघ १९ गते एमाले परित्याग गरेका थिए। केही दिनमै फेरि कांग्रेस फर्किएपछि उनको यो निर्णयलाई राजनीतिक विश्लेषकहरूले चुनावी रणनीति तथा व्यक्तिगत विश्वाससँग जोडेर हेरेका छन्।

यो घटनाले सप्तरी जिल्लामा कांग्रेसको आधार थप मजबुत हुने अपेक्षा गरिएको छ। निर्वाचन नजिकिँदै गर्दा दलहरूबीच नेताहरूको आवतजावत बढिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?