केपी ओलीले आज दमकमा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दैछन्: दिउँसो ३ बजे अमरसिंह चौकमा कार्यक्रम
15 घन्टा पहिले प्रकाशित
काठमाडौं, फाल्गुन ५ गते । झापा निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज फागुन ५ गते दिउँसो ३ बजे दमक ९ स्थित अमरसिंह चौकमा आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रम राखेका छन्। अध्यक्ष ओलीको निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार प्रतिबद्धता पत्रमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना, एमाले नेतृत्वका सरकारले गरेका कामहरूको पृष्ठभूमि, तथा सरकारले थालेका तर अपूरा रहेका योजनाहरूको विस्तृत विवरण समेटिएको छ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्नुअघि अध्यक्ष ओली आज बिहानदेखि निर्वाचन प्रचारमा व्यस्त छन्। उनले दमक ३ स्थित दुम्से र टुकुरे क्षेत्रमा घरदैलो, भेटघाट तथा प्रचारप्रसार कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। यो कार्यक्रमपछि दिउँसो अमरसिंह चौकमा हुने मुख्य कार्यक्रममा ठूलो सङ्ख्यामा कार्यकर्ता तथा मतदाताको उपस्थिति रहने अपेक्षा गरिएको छ।
अध्यक्ष ओलीको यो प्रतिबद्धता पत्रले झापा–५ मा एमालेको चुनावी अभियानलाई थप गति दिने र मतदातालाई पार्टीको विकास तथा भविष्यका योजनाबारे स्पष्ट सन्देश दिने अपेक्षा गरिएको छ। निर्वाचन प्रचारको अन्तिम चरणमा यो कार्यक्रमलाई महत्वपूर्ण मानिएको छ।
कमेन्ट गर्नुहोस्
view comments