उपेन्द्र यादवको मतदातालाई अपिल: 'इतिहास लेख्ने कि मेट्ने? अधिकार र स्वाभिमानको लागि जसपा नेपाललाई मतदान गरौँ'
15 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, फाल्गुन ५ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्वका लागि सङ्घर्ष गरेको शक्तिलाई मतदान गर्न सबै मतदातालाई आग्रह गरेका छन्। मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, “अब निर्णय तपाईँको हातमा छ, इतिहास लेख्ने कि इतिहास मेट्ने? आफ्नो अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्वका लागि सङ्घर्ष गरेको शक्तिलाई मतदान गरौँ। विभाजन र भ्रमभन्दा माथि उठेर, आफ्नो अधिकार सुरक्षित गर्ने शक्तिलाई मतदान गरौँ। भारी बहुमतले विजयी बनाएर मधेसको आवाजलाई निर्णायक बनाऔँ।”
अध्यक्ष यादवले मधेस जनविद्रोहलाई केवल आन्दोलन मात्र नभई आत्मसम्मानको घोषणापत्रको रूपमा व्याख्या गर्दै गोली, दमन र षड्यन्त्रका बीचमा उभिएर अधिकार र पहिचानको झण्डा उठाउने शक्ति नै आज मधेसको वास्तविक प्रतिनिधि भएको जिकिर गरेका छन्। उनले सङ्घीयताको आधार कमजोर पार्न खोज्नेहरू धेरै रहेको तर त्यसको रक्षा गर्ने साहस जसपा नेपालसँग मात्र भएको बताए।
उनको यो अपिलले मधेस प्रदेशका मतदाताहरूमा विशेष प्रभाव पार्ने अपेक्षा गरिएको छ। निर्वाचनको अन्तिम चरणमा जसपा नेपालले मधेसको मुद्दा र पहिचानलाई मुख्य मुद्दा बनाएर प्रचार–प्रसारलाई तीव्र बनाइरहेको छ। अध्यक्ष यादवको यो स्ट्याटसले मतदातालाई भावनात्मक रूपमा जोड्ने प्रयास गरेको देखिन्छ।
कमेन्ट गर्नुहोस्
view comments