रौतहट क्षेत्र नं. १ मा चुनावी प्रचार तीव्र: कांग्रेस उम्मेदवार अनिलकुमार झा घरदैलो अभियानमा व्यस्त
15 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, फाल्गुन ५ गते । रौतहट जिल्लामा प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूले प्रचार–प्रसारलाई तीव्रता दिएका छन्। नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झा रौतहट निर्वाचन क्षेत्र नं. १ बाट निरन्तर घरदैलो तथा भेटघाट अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन्।
उम्मेदवार झाले गौर नगरपालिका, राजदेवी नगरपालिका तथा दुर्गाभगवती गाउँपालिकाका विभिन्न वडामा पुगेर घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गरिरहेका छन्। क्षेत्रीय सभापति श्रीराम राय यादवका अनुसार झाले गाउँ–गाउँ र टोल–टोलमा पुगेर जनताको समस्या तथा गुनासो सुन्ने, पार्टीको चुनावी घोषणापत्रबारे जानकारी गराउने तथा आफू विगतमा प्रतिनिधिसभा सदस्य र सङ्घीय मन्त्री रहँदा गरेको विकास निर्माणका कामहरूबारे मतदातालाई जानकारी गराइरहेका छन्।
उम्मेदवार झाले भने, “मैले अघि बढाएका केही महत्वपूर्ण विकास आयोजना अधुरा छन्। ती पूरा गर्न र क्षेत्रको समग्र विकासलाई तीव्रता दिन पुनः निर्वाचनमा उम्मेदवारी दिएको हुँ। मतदाताले मलाई दोस्रो पटक अवसर दिनुभयो भने रौतहटको विकासमा नयाँ उचाइ हासिल गर्नेछु।”
यसैबीच, रौतहटका विभिन्न निर्वाचन क्षेत्रमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले घरदैलो, कोणसभा, सभासहित मतदातासँग प्रत्यक्ष भेटघाट कार्यक्रमलाई तीव्र बनाएका छन्। निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै प्रचार–प्रसार जारी रहेको छ। फागुन १८ गतेसम्म जारी रहने यो प्रचार अवधिमा मतदाताहरूले उम्मेदवारहरूका प्रतिबद्धता तथा योजनाबारे जानकारी लिने क्रम बढेको छ।
कमेन्ट गर्नुहोस्
view comments