धनुषा–३ मा चुनावी तरंग: युवा नेता लभ अधिकारी कांग्रेस प्रवेश, एमालेमा राजनीतिक झट्का

16 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, फाल्गुन ४ गते । आगामी निर्वाचन नजिकिँदै गर्दा धनुषा निर्वाचन क्षेत्र नं. ३ को राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तन देखिएको छ। नेकपा एमाले का प्रभावशाली युवा नेता लभ अधिकारीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेस मा औपचारिक रूपमा प्रवेश गरेपछि चुनावी माहोल थप तातिएको छ। एमालेको युवा पंक्तिमा प्रभाव राख्ने नेताको बहिर्गमनलाई राजनीतिक वृत्तमा ठूलो धक्का रूपमा हेरिएको छ।

जनकपुरधाममा आयोजित विशेष कार्यक्रममा कांग्रेस नेता तथा धनुषा–३ का उम्मेदवार विमलेन्द्र निधि ले अधिकारीलाई फूलमाला र खादा ओढाएर पार्टी सदस्यता प्रदान गर्दै स्वागत गर्नुभयो। कार्यक्रममा बोल्दै निधिले ऊर्जावान् युवाको आगमनले पार्टी अभियानमा नयाँ उत्साह थपिएको बताउँदै लोकतन्त्रको रक्षा र धनुषाको विकासका लागि युवाशक्तिको भूमिका निर्णायक हुने धारणा राख्नुभयो। साथै, अधिकारीलाई पार्टीभित्र उचित जिम्मेवारी र सम्मान दिइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

पार्टी परिवर्तनबारे प्रतिक्रिया दिँदै अधिकारीले मधेशको हकहित र विकासका लागि कांग्रेस नै उपयुक्त विकल्प भएको दाबी गर्नुभयो। वर्तमान राजनीतिक परिस्थितिमा विकासवादी सोच र समावेशी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उहाँले निधिको नेतृत्वलाई साथ दिन कांग्रेस रोजेको बताउनुभयो।

यसैबीच, धनुषा–३ मा एमाले उम्मेदवार जुली महतो र निधिबीच कडा प्रतिस्पर्धा हुने आँकलन भइरहेका बेला एमालेका सक्रिय युवा नेता कांग्रेस प्रवेश गर्नुले चुनावी अंकगणितमा प्रभाव पार्ने विश्लेषण गरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यस घटनाले मतदातामाझ नयाँ बहस सिर्जना गर्नुका साथै निर्वाचन परिणाममा समेत अर्थपूर्ण असर पार्न सक्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?