प्रतिनिधिसभा निर्वाचन प्रचार–प्रसार आजदेखि औपचारिक रूपमा सुरु: फागुन १८ गते राति १२ बजेसम्म मत माग्न पाइने

17 घन्टा पहिले प्रकाशित

एजेन्सी, फाल्गुन ४ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आज फागुन ४ गतेदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले जुलुस, आमसभा, कोणसभा सञ्चालन गर्न, सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न तथा मतदातासमक्ष औपचारिक रूपमा मत माग्न सक्नेछन्।

निर्वाचनको निष्पक्षता, स्वच्छता र निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल, उम्मेदवार तथा अन्य सरोकारवालाहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी प्रचार–प्रसार गर्नुपर्ने आयोगले जनाएको छ। आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिरहेको छ। यस अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा तथा विद्युतीय माध्यमहरूबाट पनि निर्वाचनसम्बन्धी सामग्री प्रकाशन गर्न सकिनेछ तर आचारसंहिताविपरीतका गतिविधि भएमा कडा कारबाही हुने चेतावनी दिइएको छ।

यो समयसीमाभित्र उम्मेदवारहरूले मतदातासँग प्रत्यक्ष भेटघाट, घरदैलो तथा सभामार्फत आफ्नो योजना र प्रतिबद्धता प्रस्तुत गर्न सक्नेछन्। निर्वाचन प्रचारको यो चरणले मतदातामा जागरण ल्याउने र लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?