सेवानिवृत्त प्रिन्सिपलको घरबाट करिब १ करोडको सम्पत्ति लुट

15 घन्टा पहिले प्रकाशित

एजेन्सी, फाल्गुन ३ गते ।  बिहारको मधुबनी जिल्ला अन्तर्गत लदनिया थाना क्षेत्रको गजहरा गाउँमा हतियारधारी डकैतहरूले सेवानिवृत्त प्रिन्सिपल दयाकान्त झाको घरमा ठूलो डकैती गरेको घटना सार्वजनिक भएको छ। नकाबपोश र हतियारधारी करिब २४ जना बदमाशहरूले घरको पछाडिको आँगनको पर्खाल नाघेर भित्र प्रवेश गरेका थिए। प्रवेश गरे लगत्तै उनीहरूले घरको सीसीटीभी क्यामेरा तोडेर निगरानी प्रणालीलाई पूर्ण रूपमा ठप बनाएका थिए।

डकैतहरूले परिवारका सदस्यहरूलाई मारपीट गर्दै बन्दुकको नोकमा बन्धक बनाएर करिब १ घण्टासम्म घर खानतलासी गरे। यस क्रममा उनीहरूले करिब १ करोड रुपैयाँ बराबरको गरगहना, नगद, कीमती सामान र प्रिन्सिपलको पेन्सन फन्डबाट २५ लाख रुपैयाँ पनि लुटेका छन्। डकैतहरूले कलेजका कागजातहरू पनि खोजेका थिए। घटनाको क्रममा अपराधीहरूले केही स्थानीय ग्रामीणहरूको नाम पनि लिएका थिए।

घटनाको सूचना पाएपछि मधुबनी एसपी योगेन्द्र कुमार र जयनगर डीएसपी राघव दयाल दल-बलसहित घटनास्थल पुगेका थिए। प्रारम्भिक अनुसन्धानका लागि डग स्क्वायड बोलाईएको छ। एसपी योगेन्द्र कुमारले भनेका छन्, “केही बदमाशहरूको पहिचान भइसकेको छ। छिट्टै उनीहरूको गिरफ्तारी गरी डकैतीमा संलग्न सबैको खुलासा गरिनेछ।” लदनिया पुलिसको गस्ती टोलीले संदिग्धहरूलाई पछ्याए पनि घना कोहरेका कारण अपराधीहरू नेपाल सीमातर्फ भाग्न सफल भएका थिए। प्रहरीलाई यो घटना नेपालस्थित कुनै सक्रिय गिरोहको काम हुन सक्ने आशंका छ।

डीएसपीको नेतृत्वमा विशेष टोली गठन गरी आसपासका घरहरूका सीसीटीभी फुटेज खंगाल्ने काम भइरहेको छ। संदेहका आधारमा स्थानीय निवासी सूर्यनाथ झालाई हिरासतमा लिएर सोधपुछ सुरु गरिएको छ। थप अनुसन्धान जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?