विमानस्थलमा पूर्वराजाको 'ग्रान्ड इन्ट्री': नाराबाजी र निषेधाज्ञाबीच समर्थकको घेरामा ज्ञानेन्द्र शाह
11 घन्टा पहिले प्रकाशित
काठमाडौं, फाल्गुन १ गते । झापाबाट हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनका समर्थकहरूले भव्य र उत्साहजनक स्वागत गरेका छन्। विमानस्थलको मुख्य गेटमा भेला भएका समर्थकहरूले 'हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ' जस्ता चर्का नाराबाजी गर्दै शाहको स्वागत गरेका थिए। समर्थकहरूको बाक्लो उपस्थितिका बीच पूर्वराजाले आफ्नो गाडीबाट हात हल्लाउँदै सबैलाई धन्यवाद दिएका थिए भने उनलाई र्यालीसहित निर्मल निवाससम्म पुर्याउने तयारी गरिएको थियो।
पूर्वराजाको आगमनलाई लिएर विमानस्थल क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि समर्थकहरूको भीडलाई रोक्न कठिन देखिएको थियो। 'नागरिक बचाउ महाअभियान' का संयोजक दुर्गा प्रसाईंले शाहलाई विमानस्थल भित्रैबाट स्वागत गरेका थिए भने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै काठमाडौंका मुख्य चोकहरूमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कुनै पनि अप्रिय घटना हुन नदिन र सुरक्षा व्यवस्था मजबुत बनाउन निर्मल निवाससम्मको रुटमा विशेष कडाइ गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments