फागुन २१ मै हिमाली जिल्लामा निर्वाचन सम्भव : प्रधानमन्त्री कार्की

15 घन्टा पहिले प्रकाशित

काठमाडौं, माघ २९ गते । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन २१ गते तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिने स्पष्ट पारेकी छन् । सोलुखुम्बु पुगेर निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन र भौगोलिक चुनौतीको स्थलगत निरीक्षणपछि उनले सोलुखुम्बुसहित सबै हिमाली जिल्लामा समयमै निर्वाचन सम्भव रहेको जानकारी दिइन् । उनले देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न निर्धारित मितिको निर्वाचन अपरिहार्य रहेको बताउँदै आवश्यक सबै तयारी पूरा गरिएको उल्लेख गरिन् ।

प्रधानमन्त्री कार्कीले मतदान भयरहित, शान्त, निष्पक्ष र धाँधलीरहित हुने विश्वास व्यक्त गर्दै आम मतदाता, राजनीतिक दल र उम्मेदवारलाई ढुक्क भएर सहभागी हुन आग्रह गरिन् । जिल्ला सुरक्षा समितिसँगको छलफलमा उनले दुर्गम मतदान केन्द्रमा थप सुरक्षा जनशक्ति परिचालन गर्न निर्देशन दिँदै मतदाताले डर वा दबाबविना मतदान गर्न सक्ने वातावरण सुनिश्चित गर्न जोड दिइन् । सोलुखुम्बुमा १२३ मतदान स्थल रहेका छन्, जसमध्ये सात वटा हिमाली क्षेत्रमा पर्दछन् । जिल्ला प्रशासनले मौसम र भौगोलिक जोखिमलाई ध्यानमा राखी वैकल्पिक योजना तयारी अवस्थामा राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?