समस्तीपुरमा विद्यार्थीलाई नशालु पेय खुवाएर जबर्जस्ती विवाह
14 घन्टा पहिले प्रकाशित
एजेन्सी, माघ २८ गते । बिहारको समस्तीपुर जिल्लामा ‘पकडौआ विवाह’को घटना सार्वजनिक भएको छ । पुस्तकालय पढ्न गएका विद्यार्थी नितिश कुमारलाई अपहरण गरी नशाको अवस्थामा जबर्जस्ती विवाह गराइएको आरोप लागेको हो । होस आएपछि आफूलाई कोठामा थुनिएको अवस्थामा भेटेका नितिशले भिडियो सन्देश सार्वजनिक गर्दै उद्धारको गुहार मागेका थिए । सोही भिडियोका आधारमा प्रहरीले कारबाही गर्दै उनलाई उद्धार गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।
मिडिया रिपोर्टअनुसार नितिश शनिबार बिहान १० बजे पुस्तकालय गएका थिए । त्यहाँबाट निस्किएपछि उनी आफ्ना दुई साथी राहुल र कुन्दनसँग कोल्ड ड्रिंक पिउन गएका थिए । साथीहरूले पेय पदार्थमा नशालु औषधि मिसाएको आरोप छ । बेहोस भएपछि उनलाई अपहरण गरी जबर्जस्ती विवाह गराइएको बताइएको छ । सार्वजनिक भिडियोमा विवाहका क्रममा उनी असन्तुलित अवस्थामा देखिन्छन्, बारम्बार लडिरहेका उनलाई समातेर जबर्जस्ती विवाहका रस्महरू पूरा गराइएको थियो । विवाहपछि उनलाई दुई दिनसम्म बन्द कोठामा राखिएको थियो ।
नितिशले गोप्य रूपमा बनाएको भिडियो परिवारलाई पठाएपछि परिवारले पटोरी थाना प्रहरीसँग सम्पर्क गरेका थिए । प्रहरीले चकराजअली गाउँमा छापा मारेर उनलाई उद्धार गरी परिवारको जिम्मा लगाएको हो । डीएसपी बीके मेधावीका अनुसार युवकको बयान लिइएको छ र ‘पकडौआ विवाह’सम्बन्धी आरोपमाथि गहन अनुसन्धान भइरहेको छ । आरोपितहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments