कांग्रेस सभापति गगन थापाले घोषणा पत्रको सट्टा ‘प्रतिज्ञा पत्र’ ल्याउने
15 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, माघ २८ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीले परम्परागत ‘घोषणा पत्र’ को सट्टा ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने बताएका छन्। सिरहामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यो प्रतिज्ञा पत्र वैशाख १ गतेदेखि लागू हुने नयाँ सरकारी मोडेलअनुसार तयार पारिएको स्पष्ट पारे।
उनले भने, “हामी घोषणा पत्र तयार गरिरहेका छौं, तर यो काँग्रेसको सामान्य घोषणा पत्र हुँदैन, यो हाम्रो प्रतिज्ञा पत्र हुनेछ। वैशाख १ देखि देशवासीको सामु हरेक महिनाको कामको विवरण प्रस्तुत गरिनेछ। यसले पुरानो ५–५ वर्षमा एकपटक भोट माग्ने र बेपत्ता हुने प्रवृत्तिलाई अन्त्य गर्नेछ।” थापाले अबको राजनीति ५ वर्षे योजनामा मात्र सीमित नभई दैनिक कार्यसम्पादनमा आधारित हुनुपर्ने जोड दिए। “हरेक ३० दिनमा प्रधानमन्त्री देशवासीको सामु उभिएर गएको महिनामा के काम भयो र के हुन सकेन, त्यसको स्पष्ट हिसाब दिनेछ,” उनले थपे।
काठमाडौंको सुरक्षित निर्वाचन क्षेत्र छाडेर सर्लाही–४ बाट चुनाव लड्नुको कारणबारे बोल्दै थापाले मधेसका मुद्दालाई काठमाडौंको ‘स्थायी सत्ता’ सँग जोड्न आफू सर्लाही गएको बताए। उनले मधेसको विकास र अधिकारका मुद्दालाई राष्ट्रिय स्तरमा उठाउने प्रतिबद्धता व्यक्त गरे। यो प्रतिज्ञा पत्रले कांग्रेसको नयाँ कार्यशैली र जनताप्रतिको जवाफदेहितालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments