रामेछापमा तामाकोशी नदीमा बस खस्दा ४ को मृत्यु, ६ घाइते

16 घन्टा पहिले प्रकाशित

काठमाडौं, माघ २७ गते ।  काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बस तामाकोशी नदीमा खसेको छ। रामेछापको मन्थली नगरपालिका–६ लिलौटी क्षेत्रबाट अरनिको यातायातको प्रदेश ३–०१–००५–९९७५ नम्बरको बस दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार बसमा १३ जना सवार थिए। दुर्घटनामा परी अहिलेसम्म ४ जनाको शव निकालिएको छ। उद्धार गरिएका ६ जना घाइतेलाई थप उपचारका लागि खुर्कोट र मन्थलीका अस्पतालमा पठाइएको छ। बस नदीमा डुबेको अवस्थामा रहेको र उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। तामाकोशी नदीमा पानीको बहाव बढी भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ। प्रहरी, नेपाली सेना तथा स्थानीयले संयुक्त रूपमा उद्धारमा जुटेका छन्। पीडित परिवार तथा घाइतेहरूप्रति गहिरो समवेदना छ। थप विवरण आउनेबित्तिकै सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?