नेपाली कांग्रेसको पहिलो ठूलो चुनावी सभा जनकपुरधाममा : फागुन ६ गतेदेखि मधेशबाट अभियान सुरु

17 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, माघ २५ गते ।  नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फागुन ६ गतेदेखि औपचारिक चुनावी सभा सुरु गर्ने भएको छ। पार्टीको पहिलो ठूलो केन्द्रीयस्तरको चुनावी सभा मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना हुने निर्णय भएको छ। विशेष अधिवेशनमार्फत सभापतिमा निर्वाचित गगनकुमार थापाले नेतृत्व सम्हालेपछि यो पहिलो ठूलो सभा मधेशमै गर्न लागिएको हो। सभापति थापा यसपटक सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पनि हुनुहुन्छ। मधेशबाट चुनावी अभियान सुरु गर्नुले कांग्रेसले यो प्रदेशलाई रणनीतिक रूपमा उच्च प्राथमिकतामा राखेको नेताहरूले बताएका छन्।

फागुन ६ गते बुधबार जनकपुरधामस्थित तिरहुतिया गाछीमा हुने मधेश सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए। शनिबार प्रदेश कार्यालय थापा चौकमा बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले सभालाई भव्य तथा प्रभावकारी बनाउने निर्णय गर्दै विभिन्न जिम्मेवारी तोकेको छ। प्रचार–प्रसारको जिम्मेवारी नितेश कुमार गुप्तालाई र मञ्च व्यवस्थापनको जिम्मेवारी धनुषा जिल्ला सभापति योगेन्द्र पञ्जियारलाई दिइएको छ। कांग्रेस मधेश प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताका अनुसार सभालाई ऐतिहासिक बनाउन मधेशका सबै ३२ निर्वाचन क्षेत्रबाट एक लाखभन्दा बढी नेता–कार्यकर्ता तथा समर्थकलाई सहभागी गराउने लक्ष्य राखिएको छ। नेतृत्व परिवर्तनपछि पहिलो ठूलो सभामार्फत कांग्रेसले मधेशबाट सशक्त चुनावी सन्देश दिने तयारी गरेको विश्लेषकहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?