बैतडी बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त

15 घन्टा पहिले प्रकाशित

काठमाडौं, माघ २३ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटनामा परी १३ जनाको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । आज जारी शोक विज्ञप्तिमार्फत सभापति थापाले दुर्घटनाको खबरले आफू अत्यन्त मर्माहत भएको उल्लेख गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै आत्माको चिरशान्तिको कामना गर्नुभएको छ । उहाँले शोकसन्तप्त परिवारजनप्रति पार्टी तथा व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

सभापति थापाले दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारका लागि आवश्यक सबै व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ । बिहीबार पुर्चौडी–७ भवनेबाट बझाङतर्फ जाँदै गरेको जन्ती बोकेको बस बडगाउँ मोडमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा ८ जनाको घटनास्थलमै र ५ जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने ३४ जना घाइते भएका छन् । घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?