मतदाता शिक्षाका लागि देशभर ६ हजार ७ सय ४३ वडामा स्वयंसेवक खटाइने

15 घन्टा पहिले प्रकाशित

काठमाडौं, माघ २३ गते ।  निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाउने भएको छ । जिल्ला निर्वाचन कार्यालयमार्फत ७ सय ५३ पालिकाअन्तर्गतका ६ हजार ७ सय ४३ वटै वडामा स्वयंसेवक परिचालन गरिने आयोगले जनाएको छ । बाल विकास सहजकर्ता, मातृ शिशु कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका वा सामुदायिक सेवा केन्द्रका अनुभवी परिचालकमध्येबाट स्वयंसेवक छनोट प्रक्रिया सुरु भइसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । आयोगले माघ १९ गते मतदाता शिक्षासम्बन्धी कार्यक्रम स्वीकृत गरिसकेको छ ।

आयोगका अनुसार स्वयंसेवकलाई मतदाता शिक्षामै केन्द्रित गरी परिचालन गरिनेछ, जसको मुख्य उद्देश्य मत बदर नहुने गरी मतदातालाई सही जानकारी दिनु हो । राष्ट्रियसभा सदस्य निर्वाचनमा समेत केही मत बदर भएको देखिएकाले प्रतिनिधिसभा निर्वाचन केन्द्रित मतदाता शिक्षाको आवश्यकता महसुस गरिएको आयोगको बुझाइ छ । स्वयंसेवकको छनोट तथा नियुक्ति प्रक्रिया पूरा गरी फागुन ३ गते सातै प्रदेशमा अनुशिक्षण दिइने र त्यसपछि उनीहरूलाई आ–आफ्ना वडामा खटाइने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?