देशको नेतृत्व अब उज्यालो नेपाल पार्टीले गर्छ : कुलमान घिसिङ

19 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, माघ २२ गते ।  पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब देशको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने दाबी गरेका छन्। उनले अबको प्रधानमन्त्री पनि आफ्नै पार्टीबाट हुने र उज्यालो नेपाल पार्टीको नेतृत्वमा सरकार बनेर देशमा परिवर्तन ल्याउने बताएका छन्।

बिहीबार चुनावी प्रचार प्रसारका क्रममा मधेश प्रदेश पुगेका घिसिङले जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो दाबी गरे। उनले भने, “देशको परिवर्तन गर्न उज्यालो नेपाल पार्टीको नेतृत्वमा सरकार बन्नेछ। अबको भोट भाषण गर्नेहरूको होइन, काम गर्नेहरूको हुन्छ।”

अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीले जेनजी आन्दोलनको माग र भावनालाई बोकेर अगाडि बढेको बताए। पछिल्लो समय काम गरेर देखाएका व्यक्तिहरू मिलेर बनेको यो पार्टी देश परिवर्तनका लागि आएको उनको भनाइ थियो। उनले केही पार्टीहरूले मात्र भाषण र सामाजिक सञ्जालमार्फत स्थापित भएको आरोप लगाउँदै आफ्नो पार्टी कामको आधारमा जनतामाझ पुगेको दाबी गरे।

उनले आजबाट मधेश प्रदेशको भ्रमण सुरु गरेको जानकारी दिए। प्रदेशका ८ वटै जिल्लामा आफ्नो पार्टीका उम्मेदवारहरू रहेको र जनताको घरदैलो कार्यक्रमअन्तर्गत सबैसँग भेटघाट तथा छलफल गर्ने उद्देश्यले मधेश आएको बताए।

जनकपुरधाम पुगेका घिसिङले जानकी मन्दिर, राम मन्दिर र राजदेवी मन्दिरमा पूजा–पाठ गरेका थिए। त्यसपछि उनले जनकपुरधामको पिडारी चोकमा पार्टीको सम्पर्क कार्यालयको उद्घाटन गरे। आजै सिरहा पुगेर कमला पुलको निरीक्षण गर्ने कार्यक्रम रहेको उनले बताए।

उज्यालो नेपाल पार्टीले हालै मात्र स्थापना भएको र विभिन्न क्षेत्रका काम गर्ने व्यक्तिहरू यसमा आबद्ध भएको दाबी गरिएको छ। अध्यक्ष घिसिङले मधेश प्रदेशमा पार्टीको प्रभाव बढाउने र जनताको विश्वास जित्ने प्रयास जारी राख्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?