मुम्बई विमानस्थलमा दुई जहाजका पखेटा ठोक्किए, सबै यात्रु सुरक्षित

17 घन्टा पहिले प्रकाशित

एजेन्सी, माघ २१ गते । भारतको मुम्बईस्थित छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा विमानका पखेटा आपसमा ठोक्किएका छन्। मंगलबार साँझ करिब साढे ७ बजे इन्डिगो र एयर इन्डियाका विमान ट्याक्सीवेमा रहेका बेला पखेटा आपसमा ठोक्किएको बीबीसीले जनाएको छ। घटनापछि तत्काल दुवै विमानबाट यात्रुहरूलाई सुरक्षित रूपमा ओरालिएको भारतको नागरिक उड्डयन प्राधिकरण (डिजिसिए) ले जानकारी दिएको छ।

डिजिसिएका अनुसार एयर इन्डियाको फ्लाइट एआई २७३२ मुम्बईबाट कोयम्बटूर उडान भर्ने तयारीमा ट्याक्सीवेमा रोकिएको थियो भने हैदराबादबाट आएको इन्डिगोको ए३२० विमान अवतरणपछि ट्याक्सीवेतर्फ जाँदै थियो। सोही क्रममा दुई विमानका पखेटा ठोक्किएका हुन्। दुवै एयरलाइन्सले विज्ञप्ति जारी गर्दै सबै यात्रु सुरक्षित रहेको र विमानको विंगटिपमा क्षति पुगेको जनाएको छ। घटनापछि डिजिसीएका अधिकारीहरूले स्थल निरीक्षण गरेका छन् भने दुवै विमान प्राविधिक जाँचका लागि रोकिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?