आज सहिद दिवस: देशभर सहिदहरूको स्मरण र श्रद्धाञ्जलि

1 दिन पहिले प्रकाशित

काठमाडौं, माघ १६ गते। आज सहिद दिवस विभिन्न कार्यक्रमको आयोजनासहित देशभर मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको स्मरण गर्दै यो दिवस मनाइन्छ। नेपालमा प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने चार महान सहिद—धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदहरूको सम्झनामा यो दिवस विशेष महत्वका साथ मनाइन्छ।

राणा शासनविरुद्ध आवाज उठाएको आरोपमा तत्कालीन सरकारले उनीहरूलाई मृत्युदण्ड दिएको थियो। विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते टेकुको पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ र दशरथचन्द्रलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो। यी सहिदहरूको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्रको स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रता र लोकतन्त्रका लागि जीवन आहुति दिने सहिदहरूको सम्झनामा विविध कार्यक्रम आयोजना गरिन्छ। यस वर्ष पनि माघ १० देखि १६ गतेसम्म सहिद सप्ताहका रूपमा विभिन्न कार्यक्रम हुँदै आएका छन्। विसं २०१२ देखि तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा यो दिवस मनाउन थालिएको हो।

सहिद दिवसले नेपाली जनतामा स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रिय एकताको भावना जागृत गर्ने तथा सहिदहरूको त्याग र बलिदानलाई सधैं स्मरण गर्ने अवसर प्रदान गर्छ। आज देशका विभिन्न स्थानमा शालिकमा माल्यार्पण, श्रद्धाञ्जलि सभा, रक्तदान तथा अन्य कार्यक्रमहरू भइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?