निर्वाचन आचारसंहिताको अनुगमनका लागि जिल्लास्तरमा अनुगमन अधिकृत तोकियो
3 दिन पहिले प्रकाशित
काठमाडौं, माघ १४ गते। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ। आचारसंहिताको प्रभावकारी अनुगमनका लागि जिल्लास्तरमा अनुगमन अधिकृत तोकिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।
प्रवक्ता भट्टराईका अनुसार जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृतको जिम्मेवारी दिइएको छ। उनीहरूलाई आर्थिक विषयबाहेक अन्य सबै विषयमा आचारसंहिताको अनुगमन गर्ने अधिकार दिइएको छ। आर्थिक तथा कोषसँग सम्बन्धित विषयमा भने प्रमुख कोष नियन्त्रक र कोष नियन्त्रकहरूलाई फरक–फरक जिम्मेवारी तोकिएको आयोगले जनाएको छ। निर्वाचन आचारसंहिता माघ ४ गतेदेखि नै लागू भइसकेको छ। आयोगले यो व्यवस्थाले निर्वाचन प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउने अपेक्षा गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments