नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौता: श्रमिकको अधिकार र पारदर्शी भर्ना सुनिश्चित
1 महीना पहिले प्रकाशित
काठमाडौं, माघ १२ गते । नेपाल र साउदी अरबबीच आइतबार रियादमा द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। यो सम्झौताले साउदी अरबमा जाने नेपाली श्रमिकहरूको भर्ना प्रक्रियालाई पारदर्शी बनाउने, श्रमिकको अधिकार संरक्षण गर्ने तथा सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। एक दशकदेखि जारी प्रयासपछि सम्भव भएको यो सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारी र साउदी अरबका मानव संसाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अल–राजीले हस्ताक्षर गरेका हुन्। साउदीमा हाल करिब चार लाख नेपाली कामदार कार्यरत छन्, जसमा निर्माण र सेवा क्षेत्र प्रमुख छन्।
सम्झौताले दोहोरो सम्झौता अन्त्य गर्ने, अत्यधिक भर्ना शुल्क नियन्त्रण गर्ने, न्यूनतम ज्याला सुनिश्चित गर्ने तथा श्रमिकको सुरक्षा र सुविधा मजबुत बनाउने प्रावधानहरू समेटेको छ। गत जेठमा जेनेभामा घरेलु श्रमिकबाहेक सामान्य श्रमिकका लागि सहमति भएको थियो भने घरेलु श्रमिकसम्बन्धी थप गृहकार्य जारी छ। यससँगै नेपालले श्रम सम्झौता गरेका देशहरूको संख्या १३ पुगेको छ। खाडी मुलुकमध्ये कुवेतसँग मात्रै सम्झौता बाँकी छ भने ओमानसँग मस्यौदामा सहमति भइसकेको छ। यो सम्झौतालाई नेपाली श्रमिकका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ, जसले शोषण रोक्न र वैदेशिक रोजगारीलाई थप सुरक्षित बनाउने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments