मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचन : चार सिटका लागि मतदान सम्पन्न, ३४१ मतदाताले गरे मतदान

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ ११ गते ।  राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत मधेश प्रदेशमा चार सिटका लागि मतदान सम्पन्न भएको छ। जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा सम्पन्न मतदानमा प्रदेशसभाका ९९ जना सदस्य र विभिन्न पालिकाका प्रमुख/उपप्रमुख गरी २४२ जना मतदाताले मतदान गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मधेश प्रदेश सभाका १०० प्रदेशसभा सदस्य र विभिन्न पालिकाका प्रमुख/उपप्रमुख गरी कुल ३६४ जना मतदाता रहेका थिए। जसमध्ये एक जना प्रदेशसभा सदस्य र २२ जना पालिका प्रमुख/उपप्रमुख गरी २३ जना मतदानमा अनुपस्थित रहेको सूचना अधिकारी कृष्णप्रसाद राउतले जानकारी दिए।

मतदान सम्पन्न भएपछि सर्वदलीय बैठक बसेर मतगणना प्रारम्भ गर्ने निर्णय लिइने भएको छ। निर्वाचन अधिकृत सुभाष बाबु पुरीका अनुसार मधेश प्रदेशमा चार सिटका लागि ११ जना उम्मेदवार चुनावी मैदानमा छन्।

मधेश प्रदेशमा चार सिटमध्ये एक सिटमा एमाले–कांग्रेस–जसपा नेपाल गठबन्धनको तर्फबाट महन्थ ठाकुर उम्मेदवार बनेका छन् भने अन्य तीन सिटमा विभिन्न दलका उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। मतगणना चाँडै सुरु हुने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?