सर्लाही क्षेत्र नम्बर २ मा पुरानै प्रतिद्वन्द्वी फेरि आमने–सामने : नयाँ अनुहार थपिँदा माहोल रोचक

5 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, माघ ९ गते ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ मा पुरानै प्रतिस्पर्धीहरू फेरि आमने–सामने भएका छन्। यस क्षेत्रमा राजेन्द्र महतो र महेन्द्रराय यादवबीचको प्रतिस्पर्धा पुरानै भए पनि यसपटक नेपाली कांग्रेसबाट डा. सरोज कुमार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रविन महतो र जनमत पार्टीबाट इन्जिनियर विपिन कापड लगायत नयाँ अनुहारहरूको उपस्थितिले चुनावी माहोल निकै रोचक बनेको छ।

पुरानो प्रतिस्पर्धाको इतिहास २०७९ सालको निर्वाचनमा तत्कालीन कांग्रेस–माओवादीसहितको सत्तागठबन्धनका तर्फबाट माओवादी केन्द्रको चुनाव चिह्न लिएर मैदानमा उत्रिएका महेन्द्रराय यादव विजयी भएका थिए। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार राजेन्द्र महतो उपविजेतामा सीमित भएका थिए।

यी दुईबीचको चुनावी टक्कर नयाँ भने होइन। २०७० सालको निर्वाचनमा पनि यिनै दुईबीच कडा प्रतिस्पर्धा भएको थियो। त्यतिबेला यादव तराई–मधेश सद्भावना पार्टीबाट उम्मेदवार बनेर विजयी भएका थिए भने सद्भावना पार्टीकै तर्फबाट उम्मेदवारी दिएका महतो पराजित भएका थिए। त्यस समयमा सर्लाहीका ६ निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ४ मा उनीहरू प्रतिस्पर्धामा थिए।

२०७४ सालको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट यादव सर्लाही–२ बाट विजयी हुँदा महतो भने धनुषा क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा उत्रिएका थिए। तेस्रो मधेश आन्दोलनको रापतापका बीच जनकपुर पुगेका महतोले त्यतिबेला नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई पराजित गरेका थिए।

यसपटकको नयाँ परिदृश्य यसपटक पुरानै प्रतिद्वन्द्वीहरू फेरि आमने–सामने भए पनि नयाँ अनुहारहरूको प्रवेशले समीकरण जटिल बनेको छ। कांग्रेसबाट डा. सरोज कुमार, रास्वपाबाट रविन महतो र जनमत पार्टीबाट इन्जिनियर विपिन कापडको उम्मेदवारीले मत बाँडिने सम्भावना बढाएको छ। यस क्षेत्रमा मधेशको राजनीतिक ध्रुवीकरण, स्थानीय मुद्दा र नयाँ दलहरूको प्रभावले चुनाव रोचक बन्ने देखिएको छ।

सर्लाही–२ मा मतदाताहरूले पुरानो प्रतिस्पर्धी र नयाँ अनुहारहरूबीचको यो टक्करलाई निकै चासोका साथ हेरेका छन्। निर्वाचन नजिकिँदै गर्दा यहाँको चुनावी माहोल थप तातिने निश्चित छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?