प्रतिनिधिसभा निर्वाचनका लागि १ करोड ४२ लाखभन्दा बढी मतपत्र छापियो

6 घन्टा पहिले प्रकाशित

काठमाडौं , माघ ९ गते । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले हालसम्म १ करोड ४२ लाखभन्दा बढी मतपत्र छापिसकेको जनाएको छ।

केन्द्रका अनुसार हालसम्म १ करोड ४२ लाख ८ हजार थान मतपत्र छपाइ सम्पन्न भएको छ। पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छापिएको हो। निर्वाचनका लागि कुल २ करोड ८ लाख ३ हजार थान मतपत्र छाप्नुपर्ने लक्ष्य रहेको केन्द्रले जनाएको छ।

यसैगरी, हालसम्म ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ गरिएको छ। पछिल्लो २४ घण्टामा मात्रै १ हजार २२६ बाकस प्याकिङ सम्पन्न भएको जनक शिक्षा सामग्री केन्द्रले जानकारी दिएको छ। केन्द्रले १ लाख ९८ हजार २०० थान नमूना मतपत्र निर्वाचन आयोगमा पठाइसकेको छ।

आज निर्वाचन चिह्न वितरण

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारलाई आज निर्वाचन चिह्न वितरण गरिँदैछ। उम्मेदवारी फिर्ता लिने प्रक्रिया पूरा भएपछि निर्वाचन चिह्न प्रदान गरिनेछ।

निर्वाचन तालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिन सक्नेछन्। दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम रहेको छ।

उल्लेखनीय छ, २१ फागुनमा हुने प्रत्यक्षतर्फको प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते देशभर उम्मेदवारी दर्ता गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?