महोत्तरी क्षेत्र नं. ४ मा एमालेको टिकट परिवर्तन : सरोज यादवलाई ब्याक, निलम अधिकारीलाई टिकट

3 दिन पहिले प्रकाशित

जनकपुरधाम, माघ ६ गते । नेकपा (एमाले) बाट महोत्तरी क्षेत्र नम्बर ४ का लागि एकल सिफारिस भएका पूर्व मुख्यमन्त्री तथा मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादव टिकटबाट वञ्चित भएका छन्। पार्टीले अन्तिम समयमा निलम अधिकारीलाई टिकट दिएको छ।

एमाले महोत्तरीका जिल्ला अध्यक्ष बलिराम यादवले जानकारी दिँदै भने,
‘सरोज कुमार यादवलाई पार्टीले ब्याक गरेर निलम अधिकारीलाई अघि सारेको छ। पार्टीको निर्णय सबैले मान्नुपर्छ। यसमा विवाद छैन।’

यता एमालेका एक नेताले भने सरोजले अन्तिम समयमा पार्टीसँग धोका गरेको आरोप लगाएका छन्। ती नेताका अनुसार,
‘सरोजजीको टिकट अगाडिदेखि नै सुरक्षित थियो। उहाँको नाममा टिकट पनि आइसकेको थियो। तर अन्तिम समयमा उहाँले पार्टीसँग धोका दिनुभयो। पार्टीले ब्याक गरेको कुरा गलत छ।’

सरोज यादव हाल एमाले मधेश प्रदेश संसदीय दलका नेता हुन्। २०७९ को निर्वाचनमा उनी महोत्तरी क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। उनी यसअघि मधेश प्रदेशको मुख्यमन्त्री पनि भइसकेका छन्।

यो टिकट परिवर्तनले एमालेभित्र क्षेत्र नम्बर ४ मा आन्तरिक असन्तुष्टि बढ्ने सम्भावना देखिएको छ। निलम अधिकारीलाई टिकट दिइएपछि सरोज समर्थकहरूको असन्तुष्टि बढेको बुझिएको छ। पार्टीले भने यो निर्णयलाई सबैले मान्नुपर्ने बताएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?