सप्तरी–२ मा चुनावी मैदान तातियो : उपेन्द्र यादव क्षेत्र परिवर्तन, सीके राउत, उमेश यादव र सतिश सिंहबीच कडा टक्कर
3 दिन पहिले प्रकाशित
जनकपुरधाम, माघ ६ गते । आसन्न प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ को राजनीतिक माहोल निकै तातिएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लामो समयदेखि यो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका थिए तर जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले क्षेत्र नछाड्ने अडान लिएपछि उनी अन्तिम समयमा क्षेत्र नम्बर ३ मा सरेका छन्।
उपेन्द्र यादवले यसअघि सप्तरी–२ बाट २०७४ मा जित हासिल गरेका थिए। तर २०७९ मा सोही क्षेत्रबाट सीके राउतसँग फराकिलो मतान्तरले पराजित भएका थिए। त्यसपछि उनी बारा–२ बाट उपनिर्वाचन जितेर संसद् प्रवेश गरेका थिए। यसपटक फेरि सप्तरी–२ बाटै पुरानो हारको बदला लिने योजनामा रहेका उनी राउतको अडानका कारण बाध्य भएर क्षेत्र नम्बर ३ मा पुगेका हुन्।
उनको चुनावी इतिहास हेर्दा २०६४ देखि नै हरेक निर्वाचनमा निर्वाचन क्षेत्र फेर्दै आएको देखिन्छ। कुनै पनि क्षेत्रबाट दोहोर्याएर जितेको इतिहास छैन। एउटा क्षेत्रबाट जितेपछि अर्को पटक नयाँ क्षेत्र रोज्ने उनको पुरानै शैलीलाई यसपटक पनि निरन्तरता दिइएको छ।
क्षेत्र नम्बर २ मा अब जसपाले उमेश यादवलाई अघि सारेको छ। केही समयअघि नेकपा परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका उमेशलाई पार्टीले टिकट दिएको छ। रोचक कुरा के छ भने २०७४ मा यिनै उमेश यादव उपेन्द्र यादवसँग सोही क्षेत्रमा पराजित भएका थिए। २०७९ मा पनि प्रदेशसभा सदस्यमा पराजित उमेशलाई अब जसपाले विश्वास गरेर प्रतिनिधिसभा उम्मेदवार बनाएको छ।
सप्तरी–२ को चुनावी मैदान यतिमा सीमित रहने छैन। मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिश सिंह पनि यो क्षेत्रबाट प्रतिस्पर्धामा उत्रने भएका छन्। सिंहले जनमत पार्टी र प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर स्वाभिमान पार्टीबाट उम्मेदवारी दिने तयारी गरेका छन्।
एकातिर सीके राउत (जनमत पार्टी), अर्कोतिर जसपाका उमेश यादव र पूर्व मुख्यमन्त्री सतिश सिंह (स्वाभिमान पार्टी) को उम्मेदवारीले सप्तरी–२ को चुनावी समीकरण निकै पेचिलो बन्ने देखिएको छ। यो क्षेत्रमा तीन शक्तिशाली नेताबीचको टक्करले मतदातालाई रोचक विकल्प दिएको छ। चुनाव नजिकिँदै गर्दा यो क्षेत्रको राजनीतिक गतिविधि झन् तीव्र हुने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments