रास्वपाको जनकपुर सभामा एकताको सन्देश : मधेश, पहाड र हिमाल एकजुट भएर अगाडि बढ्नुपर्छ

3 दिन पहिले प्रकाशित

जनकपुरधाम, माघ ६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेश, पहाड र हिमाल भनेर विभाजित नभई एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ। सोमबार जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजित रास्वपाको ‘परिवर्तनको उद्घोष सभा’ लाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो धारणा राख्नुभएको हो।

कार्यक्रममा बोल्दै रास्वपाका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) ले महानगर प्रमुखको भूमिकामा रहँदा मधेश र मधेशवासीका लागि पर्याप्त काम गर्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो। उहाँले केन्द्रको अधिकारलाई विकेन्द्रीकृत गरी प्रदेशलाई अझ बलियो बनाउनुपर्ने र सबै जातजातिको सम्मान हुनुपर्नेमा जोड दिनुभयो।

रास्वपाका उपसभापति डिपी अर्यालले मधेशले राम्रो नेता नपाएका कारण विकास हुन नसकेको धारणा राख्नुभयो। अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले सङ्घीयताप्रति पार्टीको धारणा अटुट रहेको भन्दै सुशासनको जगमा शासन प्रणालीलाई सुधार गर्नुपर्ने बताउनुभयो।

यस्तै रास्वपाकी नेतृ सोबिता गौतमले देशको विकासमा मधेश अग्रपङ्क्तिमा हुनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा थारू अभियन्ता सुरेन्द्र चौधरीले टीकापुर, दाङ र जनकपुरधामलाई जोड्नुपर्ने धारणा राख्नुभयो।

यो सभाले रास्वपाले मधेश प्रदेशमा आफ्नो राजनीतिक प्रभाव बढाउने प्रयास गरेको देखाएको छ। एकता, समावेशिता र विकासको सन्देशसहितको यो कार्यक्रमले पार्टीको आगामी निर्वाचन रणनीतिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?