काठमाडौं मेयर बालेन साहले राजीनामा नदिने : मनोनयनपछि पद स्वतः निष्क्रिय हुने रणनीति

1 दिन पहिले प्रकाशित

काठमाडौं, माघ ४ गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मेयर पदबाट राजीनामा नदिने भएका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिन लागेका उनले आज राजीनामा दिने भनिएको थियो र उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाउने तयारी पनि गरेका थिए। तर, अन्तिम समयमा उनले यो निर्णय फिर्ता लिएका छन्।

मेयर बालेनले ६ गते मनोनयन दर्ता गराएपछि मेयर पद स्वतः निष्क्रिय हुने भएकाले तत्काल राजीनामा नदिने मनस्थितिमा पुगेका हुन्। नेपाली काँग्रेसको विभाजनले उत्पन्न गरेको परिस्थितिमा निर्वाचन तालिका प्रभावित हुनसक्ने आशंकामा यो रणनीति बनाइएको बुझिएको छ। यदि निर्वाचन तालिका परिवर्तन भएमा वा अन्य कुनै कानुनी जटिलता आएमा पद खाली राखेर फाइदा लिन सकिने उनको टोलीको बुझाइ छ।

यो निर्णयले काठमाडौं महानगरको नेतृत्वमा तत्काल परिवर्तन नहुने भएको छ। बालेनले प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिने तयारी गरिरहेका छन्। यससँगै उनको राजनीतिक यात्रामा नयाँ अध्याय सुरु हुँदैछ।

मेयर पदको यो अवस्थाले महानगरपालिकाको दैनिक कामकाजमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा भने स्थानीयवासी र राजनीतिक विश्लेषकहरूबीच चासो बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?