कांग्रेसको देउवा समूह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा
2 दिन पहिले प्रकाशित
काठमाडौं ,माघ ४ गते । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने प्रक्रिया अघि बढाएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधिलगायत नेताहरू आयोगको निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश माग्दै सर्वोच्च पुगेका हुन्।
अधिवक्ता लक्ष्मी दाहाल रावलका अनुसार रिट निवेदन दर्ता प्रक्रियामा रहेको छ। विशेष महाधिवेशन विधानविपरीत बोलाएर नयाँ कार्यसमिति चयन गरिएको दाबी गर्दै त्यसलाई अवैधानिक घोषित गर्न माग गरिएको उनले जानकारी दिइन्। काठमाडौंको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म सम्पन्न विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको थियो, जसलाई निर्वाचन आयोगले शुक्रबार आधिकारिकता दिएको थियो। आयोगको सो निर्णयपछि देउवा समूहको केन्द्रीय कार्यसमितिले कानुनी चुनौती दिने निर्णय गरेको हो।
कमेन्ट गर्नुहोस्
view comments