सप्तरी–२ बाट सतिशकुमार सिंहको उम्मेदवारी घोषणा, स्वाभिमान पार्टीबाट प्रतिनिधिसभा चुनाव लड्ने
1 महीना पहिले प्रकाशित
जनकपुरधाम, माघ ४ गते । प्रतिनिधिसभा निर्वाचनका लागि मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। उहाँले स्वाभिमान पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने जानकारी दिनुभएको हो।
लामो समयदेखि राजनीतिमा सक्रिय सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो। स्थानीय सरकारको नेतृत्व गर्दै विकास र सुशासनका क्षेत्रमा काम गर्नुभएका उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा भने पुनः अध्यक्ष पदमा पराजित हुनुभएको थियो।
स्थानीय तह निर्वाचनमा पराजयपछि सिंह प्रदेशसभा निर्वाचनमा जनमत पार्टीबाट सप्तरी क्षेत्र नम्बर २ (क) बाट उम्मेदवार बन्नुभएको थियो। उक्त निर्वाचनमा विजयी भएसँगै उहाँ मधेश प्रदेश सरकारको नेतृत्व गर्दै मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्न सफल हुनुभयो।
मुख्यमन्त्रीका रूपमा रहँदा मधेशको विकास, समावेशिता, सुशासन र अधिकारका सवाललाई प्राथमिकतामा राखेर काम गरेको उहाँको दाबी छ। प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्दै सिंहले सप्तरी तथा मधेशको समग्र विकास, नागरिकका हकअधिकार र पहिचानका मुद्दालाई राष्ट्रिय स्तरमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँको उम्मेदवारी घोषणासँगै सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को राजनीतिक माहोल थप सक्रिय र प्रतिस्पर्धात्मक बन्दै गएको छ।
कमेन्ट गर्नुहोस्
view comments