नेपाली कांग्रेसमा फेरि विवाद : विशेष महाधिवेशनको हस्ताक्षर फिर्ता, देउवा समूह निर्वाचन आयोग पुग्यो

2 घन्टा पहिले प्रकाशित

काठमाडौं, माघ २ गते । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको प्रमाण निर्वाचन आयोगमा बुझाएको छ। शुक्रबार बिहान निर्वाचन आयोगमा दलबलसहित पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्ताक्षर फिर्ताका निवेदनसहित प्रमाण बुझाएको हो।

देउवा समूहले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशन विधानसम्मत नभएको दाबी गरेको छ। त्यसैले हस्ताक्षर फिर्ताको प्रमाणसहित आयोगमा उजुरी दर्ता गरिएको कार्यवाहक सभापति खड्काले जानकारी दिए। उनले भने, ‘विशेष महाधिवेशनको प्रमाण नपुग्ने आधारमा हस्ताक्षर फिर्ताका प्रमाण बुझाएका छौं।’

विशेष महाधिवेशनमा गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो। तर देउवा समूहले यो महाधिवेशन पार्टी विधानविपरीत भएको भन्दै यसलाई मान्यता नदिने अडान लिएको छ। हस्ताक्षर फिर्ताको यो कदमले पार्टीभित्रको विवाद झन् चर्किने संकेत गरेको छ।

निर्वाचन आयोगले यो विषयमा छानबिन गरी आवश्यक निर्णय लिने अपेक्षा गरिएको छ। कांग्रेसभित्रको यो आन्तरिक कलहले आगामी निर्वाचन र पार्टी संगठनमा प्रभाव पार्न सक्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?