पर्सा–१ मा जसपा नेपालको उम्मेदवार चयनमा अन्योल, प्रदीप यादवको नाम जिल्लाबाट सिफारिस भएन
1 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, माघ २ गते । आसन्न प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ का लागि उम्मेदवार छनोट गर्दा जसपा नेपाललाई सकस देखिएको छ। हालै पार्टीमा प्रवेश गरेका निवर्तमान सांसद प्रदीप यादवको नाम जिल्लाबाट सिफारिस नहुँदा विवाद चर्किएको हो। जसपा नेपालको पर्सा जिल्ला कार्यसमितिले पूर्वमुख्यमन्त्री लालबाबु राउत, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव र मधेस प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादवलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। यसअघि २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका प्रदीप यादव पार्टी विभाजनका बेला अशोक राई नेतृत्वको जसपामा गएका थिए र निर्वाचनको पूर्वसन्ध्यामा मात्र जसपा नेपालमा फर्किएका हुन्।
प्रदीप यादवले पार्टी एकता भइसकेकाले उम्मेदवार चयन केन्द्रीय समन्वय समितिको अधिकार क्षेत्रभित्र पर्ने दाबी गर्दै आफू नै पर्सा–१ बाट उम्मेदवार बन्ने विश्वास व्यक्त गरेका छन्। यता, जिल्ला नेतृत्वले भने जिल्लाबाट सिफारिस गरिएकाभन्दा बाहिरका व्यक्तिलाई उम्मेदवार बनाइए स्वीकार नगर्ने चेतावनी दिएको छ। जिल्ला अध्यक्ष रामनरेश यादवले एकताको औपचारिक जानकारी नआएको दाबी गर्दै सिफारिसबाहिर उम्मेदवार चयन भए प्रतिवाद गर्ने स्पष्ट पारेका छन्।
कमेन्ट गर्नुहोस्
view comments