अधिवक्ता डा. सुनिल रञ्जन सिंह मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त

20 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, पुष ३० गते ।  मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता डा. सुनिल रञ्जन सिंह नियुक्त भएका छन्। मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा सर्लाहीको ईश्वरपुर नगरपालिका–४ निवासी सिंहलाई मुख्य न्यायाधिवक्ताको जिम्मेवारी प्रदान गर्नुभएको हो। यसबारे प्रदेश प्रमुखको कार्यालयले औपचारिक जानकारी दिएको छ।

मुख्यमन्त्री यादवको नेतृत्वमा गत महिना प्रदेश सरकार गठन भएसँगै अघिल्लो मुख्य न्यायाधिवक्ताले राजीनामा दिएपछि उक्त पद रिक्त रहँदै आएको थियो। सरकार परिवर्तनपछि रिक्त भएको पदमा डा. सिंहको नियुक्ति गरिएको हो।

डा. सिंह विगत दुई दशकदेखि कानुनी क्षेत्रमा सक्रिय रहँदै आएका अनुभवी अधिवक्ता हुन्। उनले फौजदारी कानुन तथा न्याय विषयमा स्नात्तकोत्तर अध्ययन पूरा गरेका छन्। साथै, नेपाल संस्कृत विश्वविद्यालयबाट मिथिला क्षेत्रको संस्कृतिसम्बन्धी विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन्।

उनले यसअघि स्थानीय तह पुनर्संरचना आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सदस्यका रूपमा काम गरिसकेका छन्। त्यसैगरी, कारागार सुधार आयोग र शान्ति कोषको बोर्ड सदस्यका रूपमा पनि उनले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको अनुभव छ।

कानुनी तथा शैक्षिक दुवै क्षेत्रमा सुदृढ पृष्ठभूमि भएका डा. सिंहको नियुक्तिले मधेश प्रदेशको कानुनी परामर्श र न्यायिक प्रक्रियामा थप मजबुती आउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?