युक्रेन तनावमा बेलायतले पूर्वी युरोपमा दोब्बर संख्यामा सैनिक तैनाथ गर्ने तयारी

4 वर्ष पहिले प्रकाशित

२०७८ माघ १६ गते। युक्रेनलाई लिएर तनाव बढ्दै गएका बेला बेलायतले पूर्वी युरोपमा आफ्ना सेनाको तैनाथी दोब्बर पार्ने तयारी गरेको छ।

रुसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरिरहेको आरोपको परिवेशमा पश्चिमा राष्ट्रहरु त्यसको सामना गर्ने विकल्पको खोजीमा छन्। रुसमाथि दबाब बढाउने विकल्पका रुपमा बेलायतले पूर्वी युरोपमा आफ्नो सैन्य उपस्थिति बढाउनेबारे विचार गरिरहेको बिबिसीले उल्लेख गरेको छ।

पूर्वी युरोपमा थप सैनिकको तैनाथीले रुसलाई स्पष्ट सन्देश दिने प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन्।बेलायतका रक्षा तथा विदेश सचिवले मस्कोमा तनाव कम गर्ने प्रयासस्वरुप रुसी समकक्षीसँग भेटवार्ताको तयारी पनि गरेका छन्। यस्तै बेलायती प्रधानमन्त्री जोन्सनले केही दिनभित्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ताको तयारी गरेका छन्।

जोन्सनले यो हप्ता पूर्वी युरोपको भ्रमण गर्ने तयारी गरेका छन्। रुसको कुनै पनि प्रकारको हस्तक्षेप वा अस्थिरता ल्याउने गतिविधि बेलायतका लागि सह्य नहुने र आफूहरु जहिले पनि सैन्य गठबन्धन नेटोका साझेदारसँग साथ रहने जोन्सनले बताएका छन्।

पुटिनले युद्धको मार्ग रोजेमा त्यो निर्णय युरोपका लागि गम्भीर रुपमा घातक हुने बेलायती प्रधानमन्त्री जोन्सनले बताएका छन्। आफ्नो भविष्यबारे निर्णय गर्न युक्रेन स्वतन्त्र हुनु पर्ने उनले उल्लेख गरेका छन्।

आउँदो हप्ता युरोपका विभिन्न क्षेत्रमा तैनाथ हुन तयारी अवस्थामा रहन सेनालाई निर्देशन दिएको प्रधानमन्त्री जोन्सनले बताएका छन्।

रुसले युक्रेनसँगको सीमा क्षेत्रमा पछिल्लो केही हप्तामा करिब एक लाख सैनिक तैनाथ गरेको छ। यसलाई अमेरिकासहितका उसका सहयोगी राष्ट्रहरुले युक्रेनमाथि रुसी आक्रमणको तयारी भनेका छन्। तर रुसले भने युक्रेनमा आक्रमणको तयारी नरहेको दाबी गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?