ISRO को PSLV–C62 मिसनमा ऐतिहासिक सफलता, अन्तरिक्षमै स्याटेलाइट रिफ्यूलिङ परीक्षण
3 दिन पहिले प्रकाशित
एजेन्सी, पुष २८ गते । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले सन् २०२६ को सुरुवातमै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। आइतबार बिहान १०:१७ बजे आन्ध्रप्रदेशस्थित सतीश धवन स्पेस सेन्टरबाट PSLV–C62 रकेट सफलतापूर्वक प्रक्षेपण गरिएको हो। यस मिसनमार्फत अन्तरिक्षमै स्याटेलाइटमा इन्धन भर्ने (Satellite Refuelling) प्रविधिको सफल परीक्षण गरिँदै भारत चीनपछि यस्तो क्षमता हासिल गर्ने विश्वको दोस्रो राष्ट्र बनेको छ। बेंगलुरुस्थित एक स्टार्टअपले निर्माण गरेको २५ केजी तौलको ‘आयुलसैट’ ले प्रक्षेपणको केही घण्टाभित्रै अन्तरिक्षमा रिफ्यूलिङ प्रदर्शन गर्नेछ, जसले भविष्यमा स्याटेलाइटको आयु बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
PSLV–C62 ले ‘अन्वेषा’ (EOS-N1) नामको शक्तिशाली अर्थ–अब्जर्भेसन स्याटेलाइटसहित १४ वटा साना उपग्रह पनि कक्षामा स्थापना गरेको छ। हाइपरस्पेक्ट्रल सेन्सरयुक्त अन्वेषा स्याटेलाइटलाई भारतको नयाँ निगरानी (स्पाइ) स्याटेलाइटका रूपमा हेरिएको छ, जसले ६०० किलोमिटर उचाइको सन–सिन्क्रोनस अर्बिटबाट सीमावर्ती क्षेत्रको सूक्ष्म निगरानी गर्नेछ। यसका साथै पृथ्वीमा पुनःप्रवेश प्रविधि परीक्षणका लागि KID क्याप्सुल पनि पठाइएको छ। गत वर्षको असफलतापछि इसरोका लागि यो मिसनलाई मजबुत पुनरागमनका रूपमा लिइएको छ।
कमेन्ट गर्नुहोस्
view comments