शिक्षा मन्त्री महावीर पुनको व्यंग्य : विदेश भ्रमणले अर्थतन्त्र सुध्रिन्छ ?
2 दिन पहिले प्रकाशित
काठमाडौं, पुष २५ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले खेलकुदमन्त्री बब्लु गुप्तामाथि विदेश भ्रमणको विवादमा व्यंग्यात्मक टिप्पणी गरेका छन्। गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएनए एनसीसी अमेरिका) ले मन्त्री गुप्तालाई अमेरिका भ्रमणका लागि निमन्त्रणा नदिएको स्पष्ट पारेपछि उत्पन्न विवादमा मन्त्री पुनले सामाजिक सञ्जालमार्फत विदेश घुमेर देशको अर्थतन्त्र सुधार नहुने भन्दै कटाक्ष गरेका हुन्।
शुक्रबार फेसबुकमा पोस्ट गर्दै मन्त्री पुनले लेखेका छन्, “लौ जा, म मन्त्री भएपछि पहिला पनि निमन्त्रणा आएको तीनवटा विदेश भ्रमणमा गईन। अहिले पनि दुईवटा निमन्त्रणा आएछ। यसमा पनि जान्न। देशको अर्थतन्त्र नसुधारेसम्म जो सुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किनभने केही गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ ?” उनले आफूले मन्त्री भएयता पटक–पटक आएका विदेश भ्रमणका निमन्त्रणा अस्वीकार गरेको दाबी गर्दै अर्थतन्त्र सुधारबिना विकास सम्भव नहुने र विदेश यात्राले अर्थतन्त्र नबन्ने प्रश्न गरेका छन्। यो टिप्पणीले मन्त्रीहरूबीचको विदेश भ्रमणप्रतिको फरक दृष्टिकोणलाई उजागर गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments