सिरहाबाट कांग्रेस विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी : गगन–विश्वप्रकाश पक्षको बलियो उपस्थिति !

21 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, पुष २५ गते । नेपाली कांग्रेसको आसन्न विशेष महाधिवेशनमा सिरहा जिल्लाबाट बहुमत पदाधिकारी र प्रतिनिधि सहभागी हुने भएका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा पुस २७ र २८ गते काठमाडौंमा हुने यो महाधिवेशनमा सिरहाका चारवटै निर्वाचन क्षेत्रका अधिकांश प्रतिनिधि जाने तयारी छ।

सिरहामा कुल १०३ जना प्रतिनिधिमध्ये क्षेत्र नं. १ बाट २५ मध्ये १९, क्षेत्र नं. २ बाट २६ मध्ये १२, क्षेत्र नं. ३ बाट २६ मध्ये २४ र क्षेत्र नं. ४ बाट २५ मध्ये १९ जना सहभागी हुँदैछन्। जिल्ला कार्यसमितिबाट सभापति रामचन्द्र यादवबाहेक उपसभापति सुनिलकुमार महतो, सचिव शैलेन्द्र यादव, सहसचिव रामबाबु यादव, प्रवक्ता गंगाप्रसाद यादवलगायत बहुमत पदाधिकारी पनि जाने भएका छन्। जिल्ला सचिव यादवका अनुसार केही प्रतिनिधि बिहीबार नै प्रस्थान गरिसकेका छन् भने शुक्रबार र शनिबार थप जाने छन्। अत्यधिक चिसोका कारण केही अनुपस्थित हुने भए पनि महाधिवेशनमा गगन–विश्वप्रकाश पक्षको बलियो समर्थन देखिने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?