नेपाल प्रहरीले प्रतिनिधिसभा निर्वाचनका लागि १,३३,९८० निर्वाचन प्रहरीको भर्ना आह्वान

3 दिन पहिले प्रकाशित

काठमाडौं, पुष २४ गते । नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १,३३,९८० निर्वाचन प्रहरी (म्यादी) को भर्ना आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै इच्छुक तथा योग्य उम्मेदवारलाई भर्ना प्रक्रियामा सहभागी हुन सूचित गरेको हो।

निर्वाचन प्रहरीका लागि पुस २५ देखि माघ १ सम्म ७७ वटै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ। आवेदन दिने उमेर १८ वर्ष पूरा र ५४ वर्ष ननाघेको हुनुपर्ने बताइएको छ। नेपाली नागरिक, सामान्य लेखपढ जान्ने, कुनै फौजदारी अभियोग नलागेका, राजनीतिक दलका सदस्य नभएका, शारीरिक र मानसिक रूपमा स्वस्थ्य तथा आतंकवादी वा विध्वंसात्मक सङ्गठनसँग आबद्ध नभएका व्यक्ति आवेदन गर्न सक्ने छन्।

पूर्व सुरक्षा निकायका सेवानिवृत्त कर्मचारी, पूर्व म्यादी प्रहरी, वनरक्षक तथा विदेशी मित्र राष्ट्रको सुरक्षा निकायमा काम गरेका नागरिकलाई पनि छनोटको प्राथमिकता दिइनेछ। प्रारम्भिक छनोट माघ ५ देखि ९ सम्म हुनेछ भने अन्तिम नतिजा माघ १२ मा प्रकाशित हुनेछ। माघ १५ देखि २४ सम्म तालिम तथा प्रशिक्षण गरिनेछ।

निर्वाचन प्रहरीको कार्य अवधि नियुक्ति पाएको मितिबाट ४० दिन वा सरकारले तोकेबमोजिम हुने छ। सरकारले निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति र परिचालन सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गरेको छ।

निर्वाचन प्रहरीले सुविधा अन्तर्गत नेपाल प्रहरी जवानको सुरु तलब स्केल अनुसार प्रतिदिन ८६९.४० रुपैयाँ पाउनेछन्। ४० दिनको लागि कुल तलब ३४,७७६ रुपैयाँ हुनेछ। त्यसैगरी, खाद्यान्न खर्च, तयारी खर्च, खाजा खर्च र पोसाकबापतको रकम पनि उपलब्ध गराइनेछ। निर्वाचन प्रहरी घाइते भएमा र मृत्यु भएको खण्डमा निजको नजिकको हकदारले सरकारले तोकिएको क्षतिपूर्ति प्राप्त गर्ने व्यवस्था रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?