ल्हासामा नेपाल–चीन सीमा सहयोगमा नयाँ समझदारी

13 घन्टा पहिले प्रकाशित

काठमाडौं, पुष १६ गते । ल्हासास्थित नेपाली महावाणिज्यदूतावासमा मङ्गलबार महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र चीनको सिचुआन स्वायत्त प्रदेशका अध्यागमन विभागका महानिर्देशक वाङ सि होङबीच भेटवार्ता भएको छ। भेटका क्रममा महावाणिज्यदूत निरौलाले महानिर्देशक वाङलाई स्वागत गर्दै सिचुआन अध्यागमन विभागबाट महावाणिज्यदूतावासलाई प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गरे। विशेष गरी गत असारमा भोटेकोशी नदीमा आएको बाढीले क्षतिग्रस्त मितेरी पुलको निर्माण सम्पन्न भई यही पुस १७ गतेदेखि रसुवा नाकाबाट आयात–निर्यात सुचारु हुन लागेकोमा चीन सरकार र सम्बन्धित विभागलाई नेपालका तर्फबाट आभार व्यक्त गरे। यसले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने उनको विश्वास थियो।

महानिर्देशक वाङ सि होङले महावाणिज्यदूतावासको कार्यको प्रशंसा गर्दै नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धले दुवै देशको मित्रतालाई बलियो बनाएको उल्लेख गरे। उनले विगतमा दुवै पक्षको सहकार्यबाट महत्वपूर्ण काम सम्पन्न भएको स्मरण गर्दै नेपाललाई आवश्यक सहयोग प्रदान गर्न सधैं तयार रहेको प्रतिबद्धता जनाए।

भेटमा दुवै देशका सीमा नाकाहरूलाई व्यवस्थित गर्ने, आयात–निर्यात तथा मानव आवतजावतमा सहजीकरण गर्ने, सुरक्षा व्यवस्था मजबुत बनाउने, अधिकारीहरूबीच सम्बन्ध सुदृढ पार्दै भ्रमण टोली आदान–प्रदान गर्ने र एकअर्काका कार्यमा सहयोग आदानप्रदान गर्ने समझदारी भएको छ। यो भेटले नेपाल–चीन सीमा सहयोग र मैत्री सम्बन्धलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?