मधेश प्रदेश सरकार: एक महिनापछि पनि मन्त्रिमण्डल अपूर्ण
1 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुस १५ गते ।मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा गठन भएको मधेश प्रदेश सरकार झण्डै एक महिना बितिसक्दा पनि मन्त्रिमण्डल पूर्णता पाउन सकेको छैन। मङ्सिर १९ गते मुख्यमन्त्रीमा नियुक्त भएका यादवले पुष ४ गते प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरिसकेका छन्। तर ११ मन्त्रालयमध्ये अझै पाँच मात्र मन्त्री नियुक्त भएका छन्। बाँकी ६ मन्त्रालय मन्त्रीविहीन रहँदा प्रशासनिक निर्णय, नीति कार्यान्वयन र सेवा प्रवाहमा प्रत्यक्ष असर पर्न थालेको छ। सत्तारूढ ६ दलबीच मन्त्रालय भागबन्डामा सहमति नहुँदा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको बताइएको छ।
हालको सहमतिअनुसार लोसपाले शिक्षा तथा संस्कृति, जनमत पार्टीले अर्थ, नेपाली कांग्रेसले स्वास्थ्य, माओवादी केन्द्रले ऊर्जा, सिँचाइ तथा खानेपानी र एकीकृत समाजवादीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय पाइसकेका छन्। नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले केही दिनभित्र मन्त्रिमण्डल पूर्णता पाउने बताउनुभएको छ भने प्रमुख प्रतिपक्षी एमालेका नेता सरोजकुमार यादवले तत्काल मन्त्रिमण्डल विस्तार गर्न माग गर्नुभएको छ। मन्त्रिमण्डल अपूर्ण रहनुले सरकारको विश्वसनीयता कमजोर हुँदै गएको र बजेट कार्यान्वयन, नीतिगत निर्णय तथा सेवा प्रवाह प्रभावित हुने जोखिम बढेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments