मधेशका दुई प्रमुख दल एकीकृत: जसपा र लोसपाबीच एकता घोषणा
2 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुष १४ गते । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्दसूची बुझाउने अन्तिम मिति एक दिन अघि नै तराई-मधेशका दुई प्रमुख राजनीतिक शक्तिबीच एकता घोषणा भएको छ। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बीच आइतबार साँझ काठमाडौंमा भएको संयुक्त बैठकले पार्टी एकीकरण गर्ने निर्णय गरेको हो। दुवै पार्टीका नेताहरूले केही महिनासम्मको आन्तरिक गृहकार्यपछि संघीयता, पहिचान, समानुपातिक समावेशिता र सामाजिक न्यायका मुद्दाहरूलाई मजबुत बनाउन एकता गरिएको जनाएका छन्। पार्टी एकताको औपचारिक घोषणा भए पनि एकीकृत पार्टीको नाम र नेतृत्वबारे भने अझै टुंगो लाग्न बाँकी रहेको छ।
चुनाव चिन्हमा भने सहमति जुटेको नेताहरूले जनाएका छन्। पार्टी नेता मनिष सुमनले 'छाता' चिन्हमा नै समानुपातिक तर्फको बन्दसूची बुझाइने र प्रत्यक्ष निर्वाचनमा पनि सोही चिन्हबाट चुनाव लड्ने जानकारी दिनुभयो। २०७७ वैशाखमा पनि यी दुई पार्टी एकीकृत भएका थिए, तर २०७८ भदौमा पुनः विभाजन भएको थियो। २०७९ को चुनावमा जसपाले नेकपा एमालेसँग र लोसपाले नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनसँग मिलेर चुनाव लडेका थिए। मधेशका दुई ठूला शक्ति फुट्दा चुनावी परिणाम एमाले र कांग्रेसको पक्षमा गएको थियो। यसपटक नेताहरूले उपेन्द्र यादव र महन्थ ठाकुर समान हैसियतका अध्यक्ष हुने र समितिहरूको एकीकरणदेखि उम्मेदवार चयनसम्म समान हिस्सेदारीको सहमति गरेको बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments