उत्तर भारतमा कडा चिसो जारी, ३१ डिसेम्बरसम्म बाक्लो कुहिरो लाग्ने चेतावनी

18 दिन पहिले प्रकाशित

एजेन्सी, पुष १३ गते । उत्तर भारतमा कडा चिसो जारी रहेको छ। मौसम विभागले आइतबार जानकारी दिएअनुसार हिमाचल प्रदेश, पञ्जाब, हरियाणा, चण्डीगढ, पश्चिमी उत्तर प्रदेशमा ३१ डिसेम्बरसम्म र पूर्वी उत्तर प्रदेशमा १ जनवरीसम्म अत्यन्तै घना कुहिरो लाग्ने भएको छ। त्यसपछि यसमा कमी आउन सक्ने मौसमविद्ले बताएका छन्। यसरी नयाँ वर्षको अवसरमा उत्तर भारतका राज्यहरूमा घना कुहिरोबाट केही राहत मिल्ने देखिएको छ। यसैगरी, मध्य प्रदेशको पूर्वी भाग, अरुणाचल प्रदेशमा २९ डिसेम्बरसम्म, उप हिमालयी पश्चिम बंगाल, बिहार, असम, मेघालय, नागालैण्ड, मणिपुर, मिजोरम, त्रिपुरा र ओडिशामा १ जनवरीसम्म कुहिरो रहने सम्भावना रहेको छ।

उत्तर प्रदेश र उत्तराखण्डमा २८ र २९ डिसेम्बरमा, बिहारमा २८ डिसेम्बरमा चिसो दिनको अवस्था रहनेछ। पञ्जाब, हरियाणा, मध्य प्रदेशका केही स्थानमा २८ र २९ डिसेम्बरसम्म, झारखण्डमा २८ डिसेम्बरमा चिसो लहरको अवस्था रहने भएको छ। एउटा नयाँ पश्चिमी वायुमण्डलीय गडबडीले ३० डिसेम्बरदेखि पश्चिमी हिमालयी क्षेत्र र ३१ डिसेम्बरदेखि यसका वरपरका समतल क्षेत्रहरूको मौसमलाई प्रभावित गर्न सक्ने देखिएको छ।

कश्मीर र लद्दाखमा धेरै स्थानमा न्यूनतम तापक्रम पाँच डिग्रीभन्दा तल झरेको छ, हिमाचल प्रदेश र उत्तर पञ्जाबका केही स्थानमा पनि न्यूनतम तापक्रम पाँच डिग्रीभन्दा तल छ। दक्षिण पञ्जाब, हरियाणा, चण्डीगढ, दिल्ली, उत्तराखण्ड, पश्चिमी उत्तर प्रदेश, उत्तर राजस्थान, मध्य प्रदेश, उत्तर छत्तीसगढका धेरै स्थानमा न्यूनतम तापक्रम पाँचदेखि १० डिग्रीको बीचमा रहेको छ। अर्को २४ घण्टाभित्र उत्तर पश्चिम भारतमा न्यूनतम तापक्रममा कुनै ठूलो परिवर्तन देखिने छैन र त्यसको तीन दिनपछि यसमा दुईदेखि चार डिग्री सेल्सियसको वृद्धि हुने सम्भावना रहेको छ। त्यसपछि यसमा दुई डिग्रीको गिरावट आउनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?