जेनजी अभियन्ता सुदन गुरुङद्वारा राष्ट्रिय मुद्दामा केन्द्रित हुने घोषणा
22 घन्टा पहिले प्रकाशित
काठमाडौं, पुष १३ गते । जेनजी अभियन्ता सुदन गुरुङले राष्ट्रिय समस्या र जनताका वास्तविक मुद्दामा केन्द्रित भएर अगाडि बढ्ने बताएका छन् । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको तस्वीरसहित आफ्नो समूहको आगामी धारणा सार्वजनिक गर्दै अब रास्वपाले निर्वाचनको तयारीमा ध्यान दिन सक्ने उल्लेख गरेका छन् । ‘हामी भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याको समाधानमा केन्द्रित हुनेछौँ,’ गुरुङले लेखेका छन् ।
केही दिनअघि कुपण्डोलस्थित कुमार बेनको निवासमा रवि लामिछाने र बालेन शाहबीच वार्ता चलिरहेका बेला गुरुङले सहमति नजुट्दासम्म गेट नखोल्ने भन्दै ताला लगाएका थिए । तर आइतबार बिहान सहमति जुट्दा गुरुङ वार्तास्थलमा उपस्थित थिएनन् र सहमतिमा उनको नाम तथा भूमिकाबारे कुनै उल्लेख गरिएको छैन । सहमतिअनुसार एकतापछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने, सभापतिमा रवि लामिछाने रहने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने समझदारी भएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
view comments