५० वर्षदेखि विवाह नबसेको बिहारको गाउँ, पूर्वाधार अभावले ‘कुवाँरा बस्ती’को परिचय

20 दिन पहिले प्रकाशित

एजेन्सी,पुष ११ गते ।बिहारको कैमूर जिल्लाको दुर्गम पहाडी क्षेत्रमा अवस्थित बरवाँ कला गाउँलाई ५० वर्षभन्दा बढी समयदेखि विवाह नबसेको बस्तीका रूपमा चिनिन्छ। पक्की सडक, नियमित बिजुली, खानेपानी, स्वास्थ्य सेवा र सञ्चार सुविधा नहुँदा यहाँका युवाहरूको विवाह तय भएर पनि सम्पन्न हुन सकेको छैन। दुलही पक्ष गाउँसम्म पुग्न नसक्ने, बाटोको कठिनाइ र आधारभूत सुविधा नहुँदा बारात बीचैबाट फर्किने अवस्था बारम्बार दोहोरिएको स्थानीयवासी बताउँछन्। यही कारण गाउँ ‘कुवाँरा बस्ती’को रूपमा चर्चित बनेको हो।

स्थानीय जनप्रतिनिधिका अनुसार समस्या कुनै किंवदन्ती होइन, शुद्ध रूपमा पूर्वाधारको अभाव हो। अस्पताल र प्रहरी चौकी ४५ किलोमिटर टाढा छन्, गर्मीमा पानीको हाहाकार हुन्छ र सौर्य प्यानलबाट आउने बिजुली पनि अनियमित छ। खेती वर्षामा निर्भर भएकाले रोजगारीका लागि युवाहरू पलायन गर्न बाध्य छन्। गाउँलेहरू सडक, पानी र बिजुलीजस्ता न्यूनतम सुविधा पुगेमा सामान्य जीवन र विवाह–परिवार बसाल्ने सपना पूरा हुने आशा राखेका छन्। सरकारी वेबसाइटमा पर्यटकीय रूपमा चिनिनु भन्दा पनि आधारभूत सुविधाको पहुँच नै उनीहरूको मुख्य माग रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?