जनकपुरधाममा मैथिली पुस्तक ‘युग युग सियागाम’ को लोकार्पण
7 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, पुस ६ गते । मैथिली भाषामा लेखिएको पुस्तक ‘युग युग सियागाम’ (गुरु-शिष्य संवाद) को लोकार्पण आज भव्य समारोहबीच सम्पन्न भएको छ । पत्रकार सुजीत कुमार झाद्वारा लिखित यो पुस्तकको प्रकाशन दूधमती साप्ताहिकले गरेको हो । न्यू भीजन आवासीय माध्यमिक विद्यालयको आयोजनामा भएको कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले संयुक्त रूपमा लोकार्पण गर्नुभयो ।
मन्त्री शर्माले गुरु-शिष्य संवादको माध्यमले मधेशको धर्म-संस्कृतिलाई नयाँ शैलीमा प्रस्तुत गर्नु पुस्तकको विशेषता रहेको बताउनुभयो । उहाँले पौराणिक कालमा पनि महिलाको विद्वताले सबैलाई चकित पारेको स्मरण गर्दै अहिले पनि प्राथमिक शिक्षामा महिलाको योगदान र घरमा आमा प्रथम गुरु हुने कुरा उल्लेख गर्नुभयो । महन्थ रामरोशन दास वैष्णवले मठ-मन्दिर, पोखरी-तालाउ मधेशको विशेषता रहेको चर्चा गर्दै यो पुस्तकले गुरु-आमाको माध्यमले विद्यार्थीलाई संस्कृति बुझाउने प्रयास राम्रो भएको बताउनुभयो । सुजीत झाको हरेक पुस्तकको छुट्टै विशेषता रहेको भन्दै उहाँले मैथिली भाषा-साहित्य विकासका लागि प्रदेश सरकारले विशेष योजना ल्याउन सल्लाह दिनुभयो ।
पुस्तकमाथि समीक्षा गर्दै लेखक तथा अनुसन्धानकर्मी मनोज साहले गुरु-शिष्य संवादमार्फत संस्कृति बुझाउनु यसको मौलिकता रहेको र अनुसन्धान, कथा, संस्मरण सबै एकैठाउँमा रहेको बताउनुभयो । शिक्षकको रूपमा पुरुषभन्दा महिला बढी प्रभावकारी रहेको पनि पुस्तकले देखाएको उहाँको भनाइ छ ।
कार्यक्रम विश्व ध्यान दिवसको अवसरमा आयोजित थियो । विद्यालयका संस्थापक विश्वलाल सिंहले ध्यान गराउँदै योगले तन-मनमा फूर्ति ल्याउने, विचार स्वच्छ बनाउने र रोग निर्मूल पार्ने बताउनुभयो । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई विश्व ध्यान दिवस मान्यता दिएको र ध्यान स्वस्थ समाजका लागि अपरिहार्य भएको उहाँले जोड दिनुभयो । कार्यक्रमको सञ्चालन शिक्षक फणिन्द्र दादालले गर्नुभएको थियो ।
समारोहमा मैथिली विकास कोष अध्यक्ष जीवनाथ चौधरी, राष्ट्रिय मुक्ति पार्टी उपाध्यक्ष डा. राजीव झा, प्रदेशसभा उपसचिव विपिन ठाकुर, कविर अनाथ आश्रम सञ्चालक सत्यनारायण आलोक, पर्यावरण अभियन्ता सुरेश शर्मा, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य राजेश कर्णलगायतको उपस्थिति थियो । यो कार्यक्रमले मैथिली साहित्य र ध्यानको महत्वलाई उजागर गरेको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।
कमेन्ट गर्नुहोस्
view comments