सप्तरीको कञ्चनरूपमा आगलागीपछि झगडा : खुकुरी-चुलेसी प्रहारबाट दुई घाइते, ५ जना फरार

13 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, पुस ६ गते ।  सप्तरीको कञ्चनरूप नगरपालिका–११ गोरपारमा शनिबार साँझ गोठमा आगलागी भएपछि उत्पन्न विवादका क्रममा खुकुरी तथा चुलेसी प्रहार हुँदा दुई जना घाइते भएका छन् । स्थानीय मो. दाबुदको फुसको गोठमा राखिएको परालको टालमा अचानक आगलागी भएको थियो । आगो मो. जमिलले लगाएको आरोप लगाएपछि दाबुद र जमिलबीच झगडा हुँदा जमिल पक्षधरले कुटपिट र अहमदले चुलेसी प्रहार गरेको प्रहरीको भनाइ छ ।

घाइते हुनेमा दाबुदको दाहिने तिघ्रामा गम्भीर चोट लागेको छ भने उनकी आमा मरियम खातुनको हातको चोरी औँलामा सामान्य चोट लागेको छ । दुवैजनाको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरूपका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

घटनामा संलग्न ४० वर्षीय मो. जमिल, २६ वर्षीय सुलतान र सलाम, २५ वर्षीय ऐजरायल तथा अहमद फरार रहेका छन् । प्रहरीले उनीहरूको खोजतलास गरिरहेको छ । आगलागीबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?