मन्त्री कुलमान घिसिङको जोड : स्थानीय उत्पादन र बाँसको प्रयोगबाट अर्थतन्त्र मजबुत बनाऔँ
2 दिन पहिले प्रकाशित
काठमाडौं, पुष ४ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताउनुभएको छ । ‘भविष्यका लागि बाँसको आवास’ नारासहित ‘ह्याबिट्याट फर ह्युम्यानिटी’ नेपालद्वारा ललितपुरमा आयोजित ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ विमोचन कार्यक्रममा मन्त्री घिसिङले स्थानीय उत्पादन र प्रविधिको प्रयोगले रोजगारी सिर्जना गर्ने र विदेशी मुद्रा सञ्चिति बचत हुने बताउनुभयो ।
“बाँसको व्यावसायिक खेतीले आन्तरिक माग बढाउनुका साथै संरचना निर्माणमा खर्च हुने विदेशी मुद्रा बचत गर्नेछ । स्थानीय प्रविधिको प्रयोग गरौँ, मौलिकता संरक्षण गरौँ,” उहाँले भन्नुभयो । सहरी विकास मन्त्रीसमेत रहनुभएका घिसिङले आफ्नै देशको काठ तथा काठजन्य वस्तु प्रयोग नगर्दा अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको उल्लेख गर्दै प्रभावकारी, प्रविधिमैत्री र भूकम्प प्रतिरोधी संरचनामा बाँसको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । “काठ आयातमा ठूलो रकम खर्च भइरहेको छ । बाँसजस्ता स्थानीय सामग्रीको प्रयोगले अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउनेछ,” उहाँको भनाइ छ ।
सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले स्थानीय उत्पादन प्रयोगमा मन्त्रालय तयार रहेको बताउनुभयो । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराले स्थानीय सन्दर्भ अनुकूल, जलवायुमैत्री र भूकम्प प्रतिरोधी संरचनाका लागि आवश्यक नीति, मापदण्ड र कार्यविधि तयार गरी लागू गर्न विभाग प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । यो मार्गदर्शनले बाँसजस्ता स्थानीय सामग्रीको प्रयोगलाई प्रोत्साहन गरी दिगो विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।
कमेन्ट गर्नुहोस्
view comments