रास्वपा सभापति रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा थुनामुक्त गर्न उच्च अदालतको आदेश

3 दिन पहिले प्रकाशित

काठमाडौं, पुष ३ गते ।  सहकारी ठगी तथा सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत बुटवलले २ करोड ६८ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय बाबुराम आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले बिहीबार यो आदेश जारी गरेको हो । धरौटी रकम दाखिला गरेमा लामिछाने तत्काल रिहा हुने भएका छन् ।

यो मुद्दामा सह-अभियुक्त छविलाल जोशी (बन्जाडे) को हकमा भने रिहाइको आदेश भएको छैन । अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार जोशीको मुद्दामा थप सुनुवाइ हुन बाँकी छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले बिगो रकम दाखिला गरे पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो । जिल्ला अदालतको यो आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

यो आदेशले लामिछानेलाई तत्काल राहत दिएको छ र उनको राजनीतिक गतिविधिमा फर्किने बाटो खुला गरेको छ । मुद्दाको अन्तिम टुङ्गो लाग्न भने समय लाग्ने देखिन्छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?