१८ वर्षमुनिका बालबालिकालाई अभिभावकको अनुमति बिना होटल बस्न रोक

28 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुष ३ गते । राजविराजमा १८ वर्षमुनिका किशोर–किशोरी तथा बालबालिकाले अभिभावकको अनुमति बिना होटल, लज तथा गेस्ट हाउसमा बस्न नपाउने व्यवस्था लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार होटल, लज तथा गेस्ट हाउस सञ्चालकहरूसँग आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा होटल एशोसिएसन नेपालको आचारसंहिता अनिवार्य रूपमा पालना गर्ने निर्णयसहित यो व्यवस्था लागू गरिएको हो।

छलफल अनुसार होटलमा बस्न आउने सेवाग्राहीको परिचय खुल्ने कागजात र मोबाइल नम्बर अनिवार्य रूपमा अभिलेख पुस्तिकामा राख्नुपर्नेछ भने मेन गेट, रिसेप्सनलगायत स्थानमा सिसिटिभी जडान गर्नुपर्नेछ। साथै कुनै पनि कार्यक्रम आयोजना गर्दा राति १० बजेपछि ठूलो आवाजमा डिजे बजाउन नपाइने निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिनुभयो। प्रवक्ता पुरीकै अध्यक्षतामा उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?