मधेश प्रदेशमा कर्मचारी छड्के अनुगमन : ७२ जना कारबाहीमा, दुई उपसचिवसहित
28 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुष ३ गते । मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनकपुरधामस्थित ९ मन्त्रालयसहित १८ कार्यालयमा गरेको छड्के अनुगमनमा ७२ कर्मचारी कारबाहीमा परेका छन् । निमित्त प्रमुख सचिव रामकुमार महतोको निर्देशनमा मङ्गलबार र बुधबार (पुस १ र २ गते) गरिएको निरीक्षणमा अनुपस्थित र पोषाक नलगाउने कर्मचारीहरूलाई कारबाही गरिएको हो ।
शाखा अधिकृत विद्या तामाङका अनुसार पहिलो दिन ४८ र दोस्रो दिन २४ जना गरी कुल ७२ कर्मचारी कारबाहीमा परेका छन् । कारबाहीमा परेकामध्ये ५५ पुरुष र १७ महिला छन् । पदअनुसार उपसचिव २, शाखा अधिकृत ४१, नायब सुब्बा १६, खरिदार ४, सवारी चालक ३ र कार्यालय सहयोगी ६ जना छन् । पूर्वस्वीकृति बिना अनुपस्थित ३४ र पोषाक नलगाउने ३८ जनालाई प्रचलित कानुनअनुसार कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिएको छ ।
मन्त्रालयगत कारबाही :
- खेलकुद तथा समाज कल्याण : ९
- भूमि व्यवस्था, कृषि तथा सहकारी : ४
- स्वास्थ्य तथा जनसङ्ख्या : ३
- शिक्षा तथा संस्कृति : ५
- गृह, सञ्चार तथा कानुन : १
- उद्योग, वाणिज्य तथा पर्यटन : ८
- वन तथा वातावरण : ६
- भौतिक पूर्वाधार विकास : ५
- ऊर्जा, सिँचाइ तथा खानेपानी : ३
- अन्य मातहत कार्यालय : २८
कर्मचारीहरू जानकारी बिना अनुपस्थित हुने, सेवा प्रवाहमा ढिलासुस्ती गर्ने जनगुनासो बढेपछि यो छड्के अनुगमन गरिएको निमित्त प्रमुख सचिव महतोले बताउनुभयो । यो निरीक्षणलाई निरन्तरता दिँदै मधेशका बाँकी सात जिल्लामा पनि टोली खटाइने र सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माण कार्यको नियमित अनुगमन गरिने उहाँको भनाइ छ ।
यो कदमले प्रदेशको प्रशासनिक अनुशासन र सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।
कमेन्ट गर्नुहोस्
view comments